वास्तविकता नबुझी अफवाह फैलाउन खोजियो : सूर्य थापा - OpticalKhabar

Breaking

Saturday, October 24, 2020

वास्तविकता नबुझी अफवाह फैलाउन खोजियो : सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निशान छापमा भएको नक्सालाई विवाद तान्न खोजिएको बताएका छन्। डिजाइनको सामान्य वास्तविकतासमेत बुझ्न नखोजी नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्न आग्रह गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंकाे उपलक्षमा ट्वीट गर्नुभएकाे शुभकामनामा प्रयाेग भएकाे निशान छापमा रहेकाे नक्सालाई विवादमा तान्न खाेजिएकाेप्रति गम्भीर ध्यानाकर्षण भएकाे छ। नक्साकाे सानाे आकार प्रयाेग गर्दा यस्ताे हुनु स्वभाविक हाे‚’ शुक्रबार बेलुका फेसबुकमा पोस्ट गर्दै उनले भने‚ ‘यस तथ्यलाई केही ठूलाे आकारकाे साेही नक्सामा प्रष्ट देख्न सकिन्छ। डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखाेजेर नक्साकाे राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यकाे आधारमा सत्यकाे नजिक पुग्नसमेत आग्रह गर्दछु।’ यस्तो भ्रम र कुप्रचारको अन्यौलमा नपर्न उनले सबैलाई अनुरोधसमेत गरेका छन्। ‘लिम्पियाधुरासहितकाे नेपालकाे नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साकाे आैपचारिक प्रयाेगका लागि संसदकाे सर्वसम्मतिमा संविधान संशाेधन नै गरिएकाे हाे। तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन‚’ उनले लेखेका छन्‚ ‘अहिले यस विषयमा याेजनबद्ध रूपमा सिर्जना गर्न खाेजिएकाे भ्रम अनुचित छ। त्यस्ताे कुनै भ्रम र कुप्रचारकाे अन्याेलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुराेध गर्न चाहन्छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको र निशानछापभित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेको भनी विरोध भइरहेको बेलामा उनले फेसबुकमार्फत् यस्तो अफवाहका पछि नलाग्न आग्र गरेका हुन्। नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो।

No comments:

Post a Comment